काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकटको व्यवस्थापनका लागि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल अघि बढाएका छन्।
प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म सञ्चालन भएका खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे विस्तृत जानकारी लिएका छन्।
प्रधानमन्त्रीले केहीबेरपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थाबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि भेट गरी विपद् व्यवस्थापन तथा खोज–उद्धारको अवस्थाबारे जानकारी लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र बेपत्ताको खोजी कार्यलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक समन्वय र आगामी रणनीतिबारे समेत छलफल गरिरहेका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार













प्रतिक्रिया