काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर कृत्रिम रूपमा मूल्य बढाउने, कालोबजारी गर्ने र उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्।
सोमबार उद्योग मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन्। उनले ठूला गोदाम तथा भण्डारण केन्द्रमा समेत पुगेर अनुगमन गर्न आग्रह गरिन्।
मन्त्रालयले बजार अनुगमनका लागि १६ वटा टोली गठन गरेको छ। ती टोलीले दैनिक रूपमा बजारको अनुगमन गरी प्रतिवेदन बुझाउनेछन्।
मन्त्री यादवले दोषी जोसुकै भए पनि राजनीतिक पहुँच, दबाब वा अन्य कुनै प्रभावका आधारमा उन्मुक्ति नदिन निर्देशन दिएकी छन्।
विभागका अनुसार अनुगमन टोलीले बजारमा वस्तुको मूल्य, उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्था निरन्तर निगरानी गर्नेछन्। विपद्को संवेदनशील अवस्थालाई फाइदा उठाउँदै हुने कालोबजारी तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राखिनेछ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार











प्रतिक्रिया