काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नै पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवविरुद्ध दायर गरेको ठगीसम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले यादवलाई निर्दोष ठहर गरेको छ।
सोमबार फैसला गर्दै जिल्ला अदालतले उपलब्ध प्रमाण, प्रतिवादीको बयान तथा मुद्दासँग सम्बन्धित कागजातका आधारमा यादवमाथि लगाइएको आरोप पुष्टि हुन नसकेको ठहर गरेको हो।
अदालतको फैसलामा भनिएको छ, ‘यस अदालतमा विचाराधीन मुद्दामा प्रस्तुत प्रमाण, बयान तथा कागजातसमेतका आधारमा प्रतिवादी सुरेन्द्रनारायण यादवमाथि लागेको आरोप दाबी पुग्न नसकेको हुँदा निजलाई निर्दोष ठहर गरिएको छ।’
यादवमाथि जनमत पार्टीको रकम हिनामिना गरेको आरोप लागेको थियो। पार्टीको रकम दुरुपयोग गरेको भन्दै तत्कालीन पार्टी प्रवक्ता डा. शरदसिंह यादवले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले सुरेन्द्रनारायण यादवलाई पक्राउसमेत गरेको थियो।
प्रहरीबाट रिहा भएपछि जनमत पार्टीका अध्यक्ष राउतले यादवविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। यादवमाथि पार्टीका लागि संकलन गरिएको चन्दा तथा विदेशमा रहेका कार्यकर्ताबाट उठाइएको लेबी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लगाइएको थियो।
राउत पक्षले यादवले पार्टीका कार्यकर्ताबाट संकलन भएको रकम प्रयोग गरी काठमाडौँमा घर खरिद गरेको तथा जनकपुरमा व्यवसाय सञ्चालन गरेको आरोप लगाएको थियो। करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा यादवमाथि पार्टीभित्रै अनुशासनात्मक कारबाहीसमेत गरिएको थियो।
तर अदालतले मुद्दामा प्रस्तुत प्रमाण तथा कागजातबाट आरोप पुष्टि हुन नसकेको भन्दै यादवलाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार











प्रतिक्रिया