काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारका लागि प्रतिनिधिसभा बैठक बोलाउने निर्णय गरेको हो।
बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको तथा खोज, उद्धार र राहतको काम जारी रहेकाले विपद्को अवस्थाबारे संसद्मा छलफल गर्न विशेष प्रस्ताव ल्याउन लागिएको हो।
यसअघि भदौ १० गते बसेको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। त्यसपछि पहिलोपटक बुधबार संसद् बैठक बस्न लागेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी हालसम्म विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको छ। बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र व्यवस्थापनको काम जारी छ।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया