काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित जिल्लाबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ जनाको मात्रै पहिचान खुलेको छ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रबाट त्रिवि शिक्षण अस्पतालमा ल्याइएका ११४ शवमध्ये १२ वटा शवको सनाखतपछि परिवारले बुझेर अन्तिम संस्कार गरिसकेका छन्। पहिचान खुलेको अर्को एक शव भने परिवारलाई बुझाउने प्रक्रियामा रहेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।
यसैबीच, लामो समयसम्म पहिचान खुल्न नसकेका ४६ शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जंगलमा ती शवलाई सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने, ‘४६ जनाको शव गाडेर व्यवस्थापन गरिएको छ।’
स्थानीय प्रशासनले सोमबार निर्णय गरी पहिचान नखुलेका शवलाई उक्त क्षेत्रमा व्यवस्थापन गरेको हो। शव गाड्नुअघि प्रत्येक शव तथा फेला परेका मानव अंगका डीएनए नमुना संकलन, फिंगरप्रिन्ट र पाँचथान फोटो सुरक्षित राखिएको प्रशासनले जनाएको छ।
पहिचान हुन नसकेका शव तथा मानव अंगबाट संकलित विवरण भविष्यमा आफन्तले दाबी गर्दा सनाखत गर्न सहज हुने गरी सुरक्षित राखिएको हो।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया