काठमाडौं। नेपालको छोचेन खोलास्थित प्रभाव क्षेत्र वरपर रहेका हिमचट्टान अझै भत्किन सक्ने भन्दै चिनियाँ जलस्रोत मन्त्रालयले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो अवस्थाको निरन्तर अनुगमन तथा जोखिम मूल्याङ्कन भइरहेको छ।
रिमोट सेन्सिङबाट प्राप्त पछिल्ला तस्बिरको तुलनात्मक विश्लेषण गर्दा ग्यिरोङ साङ्पो नदी बेसिनमा पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन नदेखिएको मन्त्रालयले जनाएको छ। ती हिमतालहरू हाल सामान्य र स्थिर अवस्थामा रहेको बताइएको छ।
मंगलबार बिहान नेपाली समयअनुसार ५ः४५ बजे खिचिएको ड्रोन तस्बिरमा छोचेन खोलाको प्रभाव क्षेत्रमा जम्मा भएको अधिकांश पानी निकास भइसकेको र तल्लो क्षेत्रमा नदीको बहाव सामान्य अवस्थामा फर्किएको देखिएको छ।
तर प्रभाव क्षेत्र आसपासका हिमनदी तथा हिमखण्ड अझै भत्किन सक्ने जोखिम भने पूर्ण रूपमा नटरेको चिनियाँ पक्षले जनाएको छ। हिमचट्टान भत्किएमा तल्लो तटीय क्षेत्रमा पुनः जोखिम निम्तिन सक्ने भएकाले सतर्कता कायम राख्न आग्रह गरिएको छ।
चिनियाँ जलस्रोत मन्त्रालयले ग्यिरोङ काउन्टीमा आएको लेदोसहितको बाढीसँग सम्बन्धित सम्भावित जोखिमको निरन्तर निगरानी र मूल्याङ्कन गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया