काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापन तथा राहत कार्यमा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र उच्चस्तरीय समन्वय भइरहेको बताएका छन्।

सिंहदरबारमा मङ्गलबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकार र पार्टीबीचको सम्बन्ध असाध्यै सौहार्दपूर्ण, कसिलो र प्रभावकारी रहेको स्पष्ट पारे।

‘सरकार र पार्टीबीच कुनै द्विविधा छैन। पार्टी सभापति र सम्माननीय प्रधानमन्त्रीज्यूबीच देशमा भइरहेका हरेक काम र विपद् व्यवस्थापनका विषयमा दैनिकजसो संवाद र सरसल्लाह भइरहेको छ,’ प्रवक्ता खरेलले भने। विपद्को यस कठिन घडीमा सरकारले मात्र नभई पार्टी र सरकार दुवैले कसरी एकीकृत रूपमा काम गर्ने भन्नेबारे दुई नेताबीच निरन्तर रणनीति बनिरहेको उनको भनाइ थियो।

प्रवक्ता खरेलले राज्यको सीमित स्रोत साधनका बाबजुद हालसम्म १२ हजारभन्दा बढी बाढी तथा विपद् प्रभावित नागरिकको सकुशल उद्धार गर्न सरकार सफल भएको दाबी गरे। राजनीतिक दल, सञ्चारमाध्यम, स्थानीय नागरिक र तीनै तहका सरकारको साझा प्रयासबाट उद्धार र राहत कार्य सम्भव भएको उनले बताए।

विपद् प्रभावित क्षेत्रमा हाल २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै प्रवक्ता खरेलले राज्यको सम्पूर्ण ध्यान यतिवेला खोज, उद्धार, राहत र घाइतेको उपचारमै केन्द्रित रहेको स्पष्ट पारे।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com