काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्नु सामान्य कूटनीतिक भेटजस्तो हुँदैन। किमसँग भेट्नुअघि अधिकारी तथा पाहुनाले करिब एक महिनासम्म विशेष तालिम लिनुपर्ने दाबी गरिएको छ।
उत्तर कोरियाका पूर्वकूटनीतिज्ञ ली इल–ग्युका अनुसार तालिममा किमको अगाडि कसरी उभिने, कहिले बोल्ने, कति बोल्ने र कस्तो शारीरिक हाउभाउ देखाउने भन्ने सिकाइन्छ।
उनका अनुसार किमले आफैँ प्रश्न नसोधेसम्म कुराकानी सुरु गर्न पाइँदैन। प्रश्न सोधिएमा छोटो, सीधा र सही जवाफ दिनुपर्छ। उत्तर थाहा नभए जानकार भएको नाटक गर्नसमेत जोखिमपूर्ण हुने उनको दाबी छ।
किमको उपस्थितिमा अनावश्यक रूपमा हल्लिने, बढी उत्साहित हुने, बनावटी मुस्कान दिने वा आवश्यकता भन्दा बढी प्रशंसा गर्ने व्यवहार पनि उचित मानिँदैन। किमसँग हुने कुराकानी तथा गतिविधि रेकर्ड गरिने भएकाले सानो गल्तीसमेत गम्भीर बन्न सक्ने लीले बताएका छन्।
लीले किमसँग आफूले सात पटक भेटेको अनुभव सुनाउँदै त्यस्ता भेटमा अत्यधिक तनाव महसुस हुने गरेको बताए। उनका अनुसार किममा सामान्य मानवीय व्यवहार देखिए पनि उत्तर कोरियाको सत्तामा उनको प्रभाव अत्यन्त शक्तिशाली छ।
लीले किमको प्रश्नबीच बोलेका एक दोभाषेलाई किमले ‘असभ्य’ भनेपछि उनीमाथि कारबाही भएको घटनासमेत सुनाएका छन्। उनका अनुसार उक्त घटनापछि ती दोभाषेलाई आलोचना सत्रमा सहभागी गराइएको थियो।
लीको दाबीअनुसार किमलाई भेट्दा के बोल्नेभन्दा पनि कहिले नबोल्ने र कसरी व्यवहार गर्ने कुरा उत्तिकै महत्वपूर्ण हुन्छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार












प्रतिक्रिया