धादिङ । धादिङबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङका पछिल्ला गतिविधि र सार्वजनिक अभिव्यक्तिप्रति नेपाल तरुण दल धादिङले आपत्ति जनाएको छ।
तरुण दल धादिङका अध्यक्ष शंकर धमलाले विज्ञप्ति जारी गर्दै सांसद तामाङका गतिविधिले पटक–पटक विवाद सिर्जना गरेको उल्लेख गरेका छन्। पछिल्लो समय काठमाडौं, ललितपुर तथा रसुवामा भएका उनका गतिविधि सामाजिक सञ्जालमा चर्चामा आएको विज्ञप्तिमा जनाइएको छ।
विशेषगरी रसुवा बाढीबाट प्रभावित नागरिक संकटमा रहेका बेला प्रभावित क्षेत्रमा पुगेर स्थानीय जनप्रतिनिधिसँग सांसद तामाङले गरेको व्यवहारप्रति तरुण दलले असन्तुष्टि जनाएको हो।
विपद्को समयमा जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्वयंसेवी संस्थाबीच सहकार्य र समन्वय आवश्यक हुने भन्दै तरुण दलले संवेदनशील परिस्थितिमा अनावश्यक विवाद वा कसैलाई अपमानित गर्ने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ।
अध्यक्ष धमलाले सहयोग गर्ने उद्देश्य भए प्रभावित क्षेत्रमा श्रम, राहत, उद्धार तथा पुनःस्थापनामा सहकार्य गर्न तामाङलाई आग्रह गरेका छन्। विपद्को अवस्थालाई व्यक्तिगत प्रचार वा ‘स्टन्ट’को विषय नबनाउन पनि उनले चेतावनी दिएका छन्।
‘जनताको दुःखमा राजनीति होइन, मानवीयता, जिम्मेवारी र सहकार्य देखिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा सांसद तामाङ र गल्छी गाउँपालिकाका एक वडाध्यक्षबीच राहत वितरणको विषयलाई लिएर गाउँपालिका कार्यालयमै विवाद भएको थियो। तरुण दलको पछिल्लो आपत्ति यही घटनासँग पनि जोडिएको देखिन्छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार












प्रतिक्रिया