काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य भिष्मराज आङदेम्बेले रसुवाको भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनर्स्थापनाका कामबारे सरकारलाई प्रश्न गर्नु सरकारलाई कमजोर बनाउने प्रयास नभई थप प्रभावकारी बनाउन गरिएको खबरदारी भएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको जानकारी दिए।
उनले विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सभामुखलाई समेत भेटेर संसद्को बैठक तत्काल बोलाई बाढी र विपद्को अवस्थाबारे गम्भीर छलफल गर्न आग्रह गरेको बताए।
कांग्रेस सभापति गगनकुमार थापा स्वयं बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किएको उल्लेख गर्दै आङदेम्बेले पार्टीले आफ्ना सम्पूर्ण संगठनात्मक संयन्त्र र कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरी राहत तथा सहयोगमा जुटाएको बताए।
‘विपद्को यस्तो कठिन घडीमा हाम्रो साझा दायित्व उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनु हो,’ उनले भने, ‘नेपाली कांग्रेस सरकारको साथमा छ र विपद्को पीडा भोगिरहेका प्रत्येक परिवारसँग पनि सँगै उभिएको छ।’
तर सरकारलाई साथ दिनुको अर्थ सरकारले गरेका हरेक कामलाई आँखा चिम्लेर समर्थन गर्नु नभएको उनले स्पष्ट पारे। सरकार सही दिशामा अघि बढ्दा समर्थन गर्ने र कमजोरी देखिँदा सचेत गराउने दुवै भूमिका प्रतिपक्षको जिम्मेवारी भएको उनको भनाइ थियो।
‘सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै काम ठीक छन् भन्ने होइन,’ उनले भने, ‘राम्रो काममा हाम्रो साथ र समर्थन हुन्छ, तर सरकार बाटो बिराउँछ भने प्रश्न र खबरदारी पनि हुन्छ।’
बाढी आएको एक साता बितिसक्दा पनि प्रभावित क्षेत्रको अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेको उल्लेख गर्दै उनले सरकारको उद्धार तथा राहत कार्यमाथि प्रश्न उठाउनु कुनै राजनीतिक पूर्वाग्रह नभई जिम्मेवार प्रतिपक्षको कर्तव्य भएको बताए।
‘यो पूर्वाग्रह होइन, प्रश्न हो। हामी सरकारलाई कमजोर बनाउन होइन, अझ प्रभावकारी बनाउन प्रश्न गरिरहेका छौँ,’ आङदेम्बेले भने।
उनले सरकार र सत्तापक्षीय सांसदहरूलाई नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विपद्लाई राजनीतिक आरोप–प्रत्यारोप वा गालीगलौजको विषय नबनाउन आग्रह गरे।
‘यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो,’ उनले भने, ‘नागरिकको जीवनसँग जोडिएको विषयलाई गालीको विषय नबनाई आफ्नै काम र जिम्मेवारीको आत्मसमीक्षा गर्ने विषय बनाउनुपर्छ।’
आङदेम्बेले विपद्को सामना गर्न सरकार, राजनीतिक दल र सम्पूर्ण राज्य संयन्त्र एकजुट भएर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया