काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीले रसुवाको टिमुरेमा रहेको एनसेलको एक मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्णरूपमा नष्ट गरेको हो।
प्रारम्भिक आकलनअनुसार बाढी तथा पहिरोबाट भएको उक्त क्षतिका कारण एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको कम्पनीले जनाएको छ।
विपद्का कारण दूरसञ्चार सेवा प्रभावित भए पनि एनसेलले प्रभावित क्षेत्रका ग्राहकलाई निरन्तर सञ्चार सेवामा जोडिराख्न निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार ३ लाखभन्दा बढी प्रभावित ग्राहकले उक्त निःशुल्क सेवाको लाभ लिइरहेका छन्।
एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रलाई लक्षित गरी बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा सुरु गरेको थियो। बाढी आउनुअघिको सात दिनमा ती क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ।
सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा पछि शनिबारदेखि थप सात दिनका लागि विस्तार गरिएको थियो। कम्पनीका अनुसार ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ। डाउन भएका मोबाइल साइटको संख्या घट्दै गएसँगै निःशुल्क सेवाको प्रयोगसमेत बढिरहेको एनसेलले जनाएको छ।
बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुग्दा रसुवा, नुवाकोट र धादिङमा एनसेलका २७ वटा मोबाइल साइट प्रभावित भएका थिए। कम्पनीले तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ।
बाँकी तीनमध्ये रसुवाको घट्टेखोला–टिमुरे क्षेत्रको एक टावर पूर्णरूपमा क्षति भएको छ। नुवाकोटको त्रिशूली, बिदुरस्थित एक टावर तथा रसुवाको तिरुस्थित टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमै खटिएर आवश्यक काम गरिरहेको कम्पनीले जनाएको छ।
एनसेलका प्राविधिक टोलीले विपद्को कठिन परिस्थितिका बाबजुद क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिइरहेका छन्।
संकटको समयमा ग्राहकहरू सञ्चार सेवाबाट पूर्णरूपमा विच्छेद हुन नदिन एनसेलले २५ हजारभन्दा बढी ग्राहकका सिम पुनः सक्रिय गरिदिएको जनाएको छ।
ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका वा आउटगोइङ तथा इनकमिङ दुवै सेवा बन्द अवस्थामा रहेका सिमलाई समेत कम्पनीले पुनः सक्रिय गरेको हो।
यसबाट विपद्को समयमा प्रभावित ग्राहकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन, उद्धार तथा राहतका लागि आवश्यक समन्वय गर्न र आपतकालीन सूचना आदानप्रदान गर्न सहज भएको कम्पनीको भनाइ छ। पुनः सक्रिय गरिएका ग्राहकले पनि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क सेवाको सुविधा पाएका छन्।
यसैबीच, एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन तथा एसएमएससमेत प्रसारण गरिरहेको जनाएको छ।
कम्पनीले पठाउँदै आएका सन्देशमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि बैंक खाता, क्यूआर कोड वा लिंक आधिकारिक हो कि होइन भन्ने सुनिश्चित गर्न आग्रह गरिएको छ।
त्यस्तै, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा बाढी तथा विपद्सँग सम्बन्धित विभत्स, हृदयविदारक प्रकृतिका फोटो तथा भिडियो नराख्न र त्यस्ता सामग्री राखिसकेको भए तत्काल हटाउनसमेत अपिल गरिएको छ।
विपद्को समयमा सञ्चार सेवा अवरुद्ध हुन नदिन पूर्वाधार पुनःस्थापनासँगै प्रभावित ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराउने तथा सही सूचना प्रवाहमा सहयोग गर्ने कामलाई एनसेलले प्राथमिकतामा राखेको जनाएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया