काठमाडौं । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन्। एक साता बित्यो घरमा चुल्हो बलेको छैन। न घरमा कसैका आँखा ओभाएका छन्।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत् छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन छन्। ‘बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एकछिन यो मोबाइल छाडेकी छैन,’ सरिता भन्छिन्, ‘अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ।’

यही भदौ १० गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्छिन्, ‘बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ। त्यो दिन बिहान ९:०० बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन।’ सौभाग्यको खोजीमा बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त यतिबेला रसुवा पुगेका सरिताले बताइन्।

‘एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ,’ उनी भन्छिन्, ‘सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एक छिन मोबाइल छाडेकी छैन।’ सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इञ्जिनियर रहेका छोरा सौभाग्यकै आर्जनको भरमा चलेको थियो।

यसैगरी, बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि अहिले घरको चुल्हो नबलेको एक साता नाघ्यो।

अपर त्रिशुली–१ जलविद्युत् आयोजनामै कार्यरत् छोरी जोया रानासँग भदौ १० बिहान ९:०० बजेयता सम्पर्क हुन नसकेपछि यो परिवारमा सन्नाटा छाएको छ।

‘सन्तानका नाउँमा तीनवटी छोरी छन्, अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,’ पिता खिलबहादुर राना भन्छन्, ‘जो माथि जिन्दगी सुम्पन्न खोज्थे, उही सम्पर्कविहीन भएकी छ।’

आफैँले हेलिकप्टर भाडामा लिएर कैयन फेरा रसुवा र नवुाकोटका त्रिशूली किनामा चक्कर लगाए पनि छोरीको अहिलेसम्म अत्तोपत्तो नपाएको खिलबहादुर बलिन्द्र आँसु काढ्दै बताउँछन्।

यसैगरी, मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उनको एक वचनको पर्खाइमा छन्। ‘भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,’ पत्नी गुञ्जा मण्डल भक्कानिँदै भन्छिन्, ‘त्यसपछि उहाँसँग सम्पर्क भएको छैन।’

आमा र चार छोराछोरी निरन्तर उनलाई सम्झिरहेका बेला आफू आँसु झार्न पनि नसकेको गुञ्जाको बिलौना छ। काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काममा रहेका मण्डल यही भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा गएका थिए। परिवारको एउटै सहारा गङ्गाराम सम्पर्कविहीन भएपछि निकै छट्पटी बढेको छ।

यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९:०० बजेपछि सम्पर्कविहीन छन्। केही दिन पहिलेमात्र रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने अन्सारीले अन्तिमपटक यही भदौ ९ गते आमा मुलिमा खातुनलाइ फोन गरेका थिए।

केही दिनभित्रै एक साताको बिदामा घर आउने बताएका पिता माजिद अन्सारी सम्झन्छन्। ‘दिनदिनै घरमा फोन गर्थ्यो, भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,’ पिता माजिद भन्छन्, ‘यही भदौ १० यता घरमा चुल्हो बलेको छैन, आफन्त जो आउँछन् घरमा सबै आँखा टिलपिलाएका छन्।’ कसैले हशनबारे राम्रो समाचार सुनाउला कि पर्खाइ मात्रै बाँकी रहेको माजिद बताउँछन्।

भोटेकोशी बाढीयता रसुवा र नुवाकोटमा सम्पर्कमा आएका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित तवरले पारिवारिक सम्पर्कमा पठाइसकेको छ। त्यसबाहेक सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना पारिवारिक सम्पर्कमा आइसकेका महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

‘अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,’ प्रजिअ यादवले भने, ‘विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस्।’

रासस

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com