काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई विपद्को अवस्था र उद्धार–राहतबारे जानकारी गराएका छन्।

बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित ब्रिफिङमा राजदूत, नियोग प्रमुख तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि सहभागी थिए। मन्त्री खनालले बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको बताए।

उनका अनुसार उद्धारका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने बेपत्ता विदेशी नागरिकको खोजी तथा समन्वयका लागि मन्त्रालयमा आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरिएको छ।

खनालले सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाप्रति आभार व्यक्त गर्दै आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत मात्र परिचालन हुने स्पष्ट पारे। विपद्को नाममा हुने ठगी तथा नक्कली क्यूआर कोडबाट सचेत रहन पनि उनले आग्रह गरे।

यस्तै, प्रभावित केही क्षेत्रबाहेक काठमाडौं, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथासहित प्रमुख पर्यटकीय गन्तव्य तथा विमानस्थलहरू सुरक्षित र खुला रहेको भन्दै नेपाल पर्यटक स्वागतका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्न कूटनीतिक नियोगलाई आग्रह गरे।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com