काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हाम्रा मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवन पद्धतिको अनुपम सङ्गम भएको सुन्दर राष्ट्र भएको बताएका छन्।
यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उल्लेख गरेका छन्। भगवान् श्रीकृष्णको जन्म भएको पावन दिनको स्मरणमा मनाइने श्रीकृष्ण जन्माष्टमी सत्य, न्याय, कर्तव्य, प्रेम, करूणा र मानव कल्याणका आदर्शलाई आत्मसात् गर्ने प्रेरणादायी पर्वका रूपमा रहेको सभापति थापाले चित्रण गरेका छन्।
त्यस्तै, सुदूरपश्चिमको समृद्ध मौलिक संस्कृति, आस्था र परम्परासँग अभिन्न रूपमा जोडिएको गौरा पर्व हाम्रो सांस्कृतिक गौरव, सामाजिक एकता र पारिवारिक आत्मीयताको जीवन्त प्रतीक भएको उनको भनाइ छ।
उनले दुवै पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार











प्रतिक्रिया