काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार तथा खोजीका क्रममा एकजनाको शव फेला परेको छ।

उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको सुरक्षा टोलीले एकजनाको शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो। उद्धार हुनेमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन रहेका छन्। सप्तरीका साह आयोजनामा मेकानिकल फोरम्यान तथा काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीपछि आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन भएका थिए। बाढीका कारण आयोजनाको सुरुङसहित विभिन्न संरचनामा मानिसहरू फसेपछि त्यसयता खोजी तथा उद्धार अभियान निरन्तर सञ्चालन हुँदै आएको छ।

उद्धारमा खटिएको सशस्त्र प्रहरी टोलीका अनुसार आयोजनाको सुरुङभित्र रहेका सात तल्लामध्ये पाँच तल्लासम्म टोली पुगिसकेको छ। सोही क्रममा एकजनाको शव फेला परेको हो।

सम्पर्कविहीन रहेका अन्य व्यक्तिको अवस्था अझै यकिन हुन सकेको छैन। सुरक्षा निकाय तथा प्राविधिक टोलीले सुरुङका बाँकी भागमा समेत खोजीलाई तीव्रता दिएका छन्।

यसअघि दुई जनालाई जीवितै उद्धार गरिएपछि सुरुङभित्र अझै जीवित व्यक्ति भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

 

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com