काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि आफूहरूले सरकारलाई निरन्तर दबाब दिएको बताएका छन्।

शाहीले इन्जिनियरिङ ज्ञान नभए पनि विभिन्न निकायसँग समन्वय गर्दै स्थलगत रूपमा उद्धारका लागि पहल गरेको बताएका हुन्। उनका अनुसार पहिरो गएको दुई घण्टाभित्रै सुरुङमा मानिस फसेको र सुरुङको ब्लुप्रिन्टसहितको जानकारी गृह मन्त्रालयलाई गराइएको थियो।

सर्वदलीय बैठकमा समेत गृहमन्त्रीलाई अगाडि राखेर सुरुङभित्र नागरिक फसेको र तत्काल उद्धार गर्नुपर्ने कुरा स्पष्ट रूपमा राखिएको उनले बताए।

तर, आठ दिनसम्म एउटा मिनी एक्स्काभेटरसम्म जुटाउन नसक्दा उद्धारका लागि आवश्यक उपकरण घटनास्थलमा पुर्‍याउन नसकिएको शाहीको आरोप छ। गलत रिपोर्टिङका आधारमा ‘हिलो तान्ने मेसिन छैन’ भन्दै उद्धार स्थगित गर्ने कुरा प्रधानमन्त्रीले संसद्मा सम्बोधन गरेको उनको दाबी छ।

‘हामी चुप लागेर बसेनौँ। सरकारलाई निरन्तर दबाब दियौँ र उद्धार कार्य अगाडि बढाउन पहल गरिरह्यौँ,’ शाहीले भनेका छन्।

झन्डै १० दिनपछि नेपाली सेनाले सुरुङभित्र फसेका नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरेका छन्। उनले उद्धारमा संलग्न नेपाली सेनासहित सबैप्रति धन्यवाद दिँदै अझै सुरुङमा रहेका नागरिकको जीवन बचाउन प्रयास जारी राख्न आग्रह गरेका छन्।

शाहीले राज्यसँग स्रोत, साधन र शक्ति रहेकाले सरकारले त्यसको पूर्ण परिचालन गरी उद्धार कार्य तीव्र बनाउनुपर्ने बताएका छन्।

‘दुनियाँले जे भने पनि हामीलाई मतलब छैन। हामीलाई मतलब छ त केवल मानिसको जीवनसँग। मानिस बाँच्नुपर्छ, सबैभन्दा ठूलो कुरा यही हो,’ शाहीले भनेका छन्।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com