काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्पछि उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका सबै चरणमा पार्टीले सरकारलाई आवश्यक सहयोग गर्ने बताएका छन्।

एमाले विशेष संगठन कमिटीले च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै तत्काल पीडितको उद्धार र राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले बाढीपहिरोलगायतका विपद्‌पछि एमालेले आफ्नो पार्टी पंक्तिलाई उद्धार तथा राहत कार्यमा परिचालन गरेको जानकारी दिए। विपद्बाट भएको क्षतिको स्थलगत अध्ययनका लागि पार्टीका तर्फबाट टोली खटाएर वास्तविक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइएको पनि उनले बताए।

पोखरेलले विपद् व्यवस्थापनमा बागमती प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे। राहत सामग्री संकलन गरेर मात्र राख्ने नभई वास्तविक पीडितको हातमा समयमै पुर्‍याउनुपर्नेमा एमालेले विशेष जोड दिएको उनको भनाइ छ।

उनका अनुसार राहत वितरणमा देखिएका ढिलाइ र अव्यवस्थालाई अन्त्य गर्दै स्थानीय तहको समन्वयमा पीडितसम्म राहत पुर्‍याउने प्रयास भइरहेको छ।

महासचिव पोखरेलले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यसको गम्भीर प्रभाव देखिन थालेको भन्दै नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि त्यसको प्रतिकूल असर भने ठूलो मात्रामा व्यहोर्नुपरेको बताए।

नेपालको कुल कार्बन उत्सर्जन विश्वको करिब ०.०२५ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको मुख्य कारण बनेका औद्योगिक राष्ट्रहरूले यसको असर न्यूनीकरण तथा क्षतिपूर्तिका लागि जिम्मेवारी लिनुपर्ने धारणा राखे।

‘अपराध एउटाले गर्ने तर दण्ड अर्काले पाउने अवस्थाजस्तै नेपालले जलवायु परिवर्तनको असर भोगिरहेको छ,’ पोखरेलले भने, ‘औद्योगिक राष्ट्रहरूले ठूलो मात्रामा कार्बन उत्सर्जन गरेर आर्थिक लाभ लिइरहेका छन्, तर त्यसको गम्भीर असर नेपालजस्ता हिमाली मुलुकले व्यहोर्नुपरेको छ।’

उनले जलवायु न्यायको सिद्धान्तअनुसार जलवायु परिवर्तनमा बढी योगदान गर्ने औद्योगिक राष्ट्रहरूले प्रभावित मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए।

नेपालले भोगिरहेका बाढी, पहिरो, हिमाली क्षेत्रको जोखिमलगायतका विपद्लाई नेपालकै मात्र समस्या भनेर हेर्न नहुने उनको भनाइ थियो। यस्ता घटनालाई समग्र मानव सभ्यतामाथिको चेतावनीका रूपमा बुझेर अन्तर्राष्ट्रिय समुदायले गम्भीर कदम चाल्नुपर्ने उनले बताए।

पोखरेलले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बढी प्रभावित नेपालजस्ता मुलुकलाई औद्योगिक राष्ट्रहरूले क्षतिपूर्ति तथा आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com