धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा शनिबार दिनभर सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा थियो। उक्त सडकको मर्मत कार्य गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आज सवारी आवागमनमा रोक लगाएको हो।
प्रशासनका अनुसार शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १२ घण्टा परेवाभिर खण्ड हुँदै सञ्चालन हुने सबै सवारी साधनको आवागमन बन्द रहनेछ।
तर, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक सवारी साधनलाई भने सञ्चालन गर्न दिइनेछ।
मर्मत कार्यका कारण यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया