काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन्।
नेपाल सरकारको विशेष आग्रहपछि राष्ट्रसंघले वक्ताहरूको तालिका संशोधन गर्दै प्रधानमन्त्री शाहको सम्बोधनको नयाँ मिति तय गरेको हो।
सेप्टेम्बर २४ अर्थात् असोज ८ गते दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म विभिन्न देशका १८ जना नेताले महासभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाह १७औँ वक्ताका रूपमा रोस्ट्रममा पुग्नेछन्।
यसपटकको सम्बोधनमा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षति अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्।
नेपालमा पछिल्लो समय बढ्दै गएको बाढीपहिरोलगायत विपद्को प्रमुख कारण जलवायु परिवर्तन रहेको उल्लेख गर्दै उनले जलवायु संकट र त्यसबाट नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्।
यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो। तर, भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि सरकारले रणनीति परिवर्तन गर्दै प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर सम्बोधन गर्ने निर्णय गरेको हो।
भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले बाढीबाट भएको क्षति र जलवायुजन्य संकटको विषय नेपालले विश्वका शीर्ष नेतृत्वमाझ प्रत्यक्ष रूपमा उठाउनुपर्ने निष्कर्षसहित प्रधानमन्त्रीलाई महासभामा पठाउने निर्णय गरेको थियो।
न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा हुने महासभामा हालसम्म ११८ देशका नेताहरूको सम्बोधन तय भइसकेको छ। अधिकांश मुलुकबाट राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विदेशमन्त्री सहभागी हुँदैछन्।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया