चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक भासिएपछि सञ्चालनका लागि खोलिएको वैकल्पिक ट्र्याक फराकिलो बनाउने काम तीव्र पारिएको छ।

निर्माण सामग्री र उपकरण पुर्‍याउन सहज होस् भनेर माथिल्लो भागमा रुख तथा झाडी हटाएर करिब ४ मिटर चौडा ट्र्याक खोलिएको नौबिसे–मुग्लिन सडक आयोजना (पश्चिमखण्ड) का इन्जिनियर सचेन्द्र मिश्रले बताए।

हाल भित्ता काट्ने, ट्र्याक चौडा गर्ने, ग्राभेलिङ तथा ग्रेडिङ मिलाउने र डिजाइनअनुसार पहिरो व्यवस्थापनको काम भइरहेको छ। आयोजनाले भदौ मसान्तसम्म सर्वसाधारणका सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

करिब २० मिटर माथि र ३५० मिटर लामो यो ट्र्याक हाल निर्माण सामग्री, इन्धन र कामदारको आवतजावतका लागि मात्र प्रयोग भइरहेको निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालले बताए। आपत्कालीन अवस्थामा भने पैदल यात्रु वारपार गर्न सक्ने अवस्था बनेको छ।

कामलाई तीव्रता दिन भारी उपकरणसमेत थपिएको छ। पहिरोस्थलमा दुई एक्साभेटर थपेर सात, एक जेसिबी, एक लोडर र दुई बुलडोजर परिचालन गरिएको छ।

आयोजनाका अनुसार ट्र्याक निर्माण र पहिरो व्यवस्थापनको काम निर्धारित समयमै सम्पन्न गरी कृष्णभीर खण्डमा सवारी आवागमन पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com