काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको संकटको समयमा लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले कार्यक्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने र उनीहरूको सेवा, सुरक्षा तथा सुविधामा सरकारले सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

संकटको समयमा खटिन प्रेरित गर्ने सुरक्षाकर्मीका परिवारजनप्रति पनि आभार व्यक्त गरिएको छ। साथै संकट व्यवस्थापनमा सुरक्षाकर्मीसँगै अहोरात्र खटिएका देश तथा विदेशका अन्य विज्ञहरूलाई पनि विशेष धन्यवाद ज्ञापन गरिएको छ।

विपत्को समयमा सुरक्षाकर्मीहरूले उदाहरणीय काम गरेको उल्लेख गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको जानकारी दिइएको छ। कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद बाढीले थुपारेको दलदल तथा भग्नावशेष खोस्रेर खोज र उद्धार कार्य जारी राखिएको सन्देशमा उल्लेख छ।

यसैगरी शवको संवेदनशील व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी वा सङ्क्रामक रोग फैलिन नदिन र शिविरहरूमा रहेका प्रभावितहरूको हौसला बढाउन तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू निरन्तर खटिरहेका छन्। बाढीका कारण ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन भएकाले सुरक्षाकर्मीहरूले आफ्नो थकान र तनाव भुलेर खोज तथा उद्धारमा जुटेको प्रधानमन्त्री शाहले बताए।

तीनवटै सुरक्षा निकाय काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिपरेको भए पनि बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको जानकारी दिइएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com