काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य अझ प्रभावकारी बनाउन माग गरेका छन्। उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न र आवश्यक उपकरणसहित टोली परिचालन गर्न सरकारसँग आग्रह गरेका हुन्।

साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न सरकारसँग माग गरे। साम्पाङले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक औजार तथा उपकरणसहित बाढीग्रस्त क्षेत्रमा परिचालन गर्नुपर्ने बताए। प्रभावित क्षेत्रमा सामान्य बेल्चासमेत उपलब्ध नभएको अवस्था रहेको उनको भनाइ छ।

उनले आफूहरू सहभागी भएको अघिल्लो दिनको खोजी कार्यमा आफूसँग बोकेको बेल्चाले समेत महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

‘खोजी र उद्धार कार्य खास प्रभावकारी भएको छैन। अझै सुधार गर्नुपर्छ,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘थोरैमा १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरियोस्। औजार र उपकरणसहित बाढीग्रस्त क्षेत्रमा पठाइयोस्। बेल्चा समेत नभएको अवस्था छ।’

साम्पाङले उद्धार तथा खोजी कार्यमा आवश्यक उपकरण प्रयोग गर्न अनुमति नदिइएको भन्दै सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन्। उनले उपकरणको प्रभावकारी प्रयोग गर्न पाइएको भए प्रभावित क्षेत्रमा जीवनको खोजी अझ छिटो र प्रभावकारी हुन सक्ने बताए।

सरकारले प्रभावकारी रूपमा काम गर्न आफ्नो सामाजिक सञ्जालमा राखिएका सुझाव तथा जानकारीसमेत अध्ययन गर्नुपर्ने उनको आग्रह समेत छ। ‘सरकार पक्षले मेरो फेसबुकको वाल पढ्नै पर्छ, यदि सबल र सहज तरिकाले काम गर्ने हो भने। अन्यथा भद्रगोल छ स्थिति,’ उनले भनेका छन्।

उनले उद्धार कार्यमा ढिलाइ हुँदा सम्भावित रूपमा जीवित व्यक्तिको खोजीमा समेत असर पर्न सक्ने भएकाले जनशक्ति, उपकरण र समन्वयलाई तत्काल प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com