एजेन्स । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर सवारीसाधनमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्।
सान जुआन, प्युर्टो रिकोबाट स्थानीय समयअनुसार आइतबार दिउँसो मियामी आइपुगेको विमान धावनमार्गबाट बाहिरिएर विमानस्थल वरपरका गोदामका कामदार र अन्य व्यवसायीले प्रयोग गर्ने सडकमा पुगेको थियो।
मियामी-डेड काउन्टीका अधिकारीका अनुसार दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने दुई जनालाई सामान्य चोटपटक लागेको छ। दुर्घटनामा पाइलटहरूको अवस्था र मृत्यु हुने सबै व्यक्ति गाडीमा सवार थिए वा थिएनन् भन्ने तत्काल स्पष्ट हुन सकेको छैन।
मियामी-डेड फायर रेस्क्यूका प्रमुख रे जदल्लाहले दुर्घटनापछि आकाशमा बाक्लो कालो धुवाँ फैलिएको बताए। उनका अनुसार पाइलट र सहपाइलट ककपिटमा फसेका थिए भने केही व्यक्ति कारमा फसेका थिए। उद्धार टोलीले गाडीमुनि फसेका एक जनालाई पनि बाहिर निकालेको थियो।
दुर्घटनापछि विमानस्थलमा दिउँसोको अधिकांश समय उडान प्रभावित भएका थिए। करिब २०० आपतकालीन कर्मचारी उद्धार कार्यमा खटिएका थिए। विमानको इन्जिन भागमा लागेको आगो निभाउन विशेष फोम प्रयोग गरिएको थियो।
तस्बिरहरूमा अमेजनको प्राइम एयर विमान दुई वटा ट्रक नजिकै सडक किनारमा अड्किएको देखिएको थियो। विमानको पेटको भाग जमिनमा टेकेको थियो। दुर्घटनाको कारण अझै खुलेको छैन।
घटनाको समयमा त्यस क्षेत्रमा मेघगर्जनसहित प्रतिघण्टा ४८ किलोमिटरको गतिमा हावा चलिरहेको राष्ट्रिय मौसम सेवाले जनाएको छ। उक्त उडान उत्तरी क्यारोलिनामा रहेको कार्गो कम्पनी २१ एयरले सञ्चालन गरेको थियो। ३२ वर्ष पुरानो बोइङ ७६७ विमान सुरुमा यात्रु बोक्न बनाइएको थियो। तर सन् २०१५ मा कार्गो विमानमा रूपान्तरण गरिएको थियो।
उडान ट्र्याक गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अबेरसम्म १६० भन्दा बढी उडान रद्द भएका थिए भने करिब ३२५ उडान ढिला भएका थिए। केही उडान ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको थियो।
राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धानका लागि अध्यक्ष जेनिफर होमन्डीको नेतृत्वमा टोली मियामी पठाएको जनाएको छ। अमेजनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ।
प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार











प्रतिक्रिया