काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन रहेको भनिए पनि ती सबै सुरुङभित्र नफसेको नेपाली सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबारको पत्रकार सम्मेलनमा सेनाका अधिकारीले हालसम्मको विवरणअनुसार जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको देखिएको जानकारी दिए।

‘परियोजनाले ९ सय हाराहारी मानिस टनेलभित्र फसेका भनेर भने पनि त्यो सबै संख्या टनेलभित्र फसेका होइनन्,’ सेनाका अधिकारीले भने, ‘टनेलभित्र हाराहारी १२१ जना मात्रै फसेको देखिन्छ।’

भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित भएका छन्। आयोजनासँग सम्बन्धित ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको विवरण स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गर्दै आएको छ।

इप्पानका अनुसार पछिल्लो विवरणमा बाढीमा परी ९८३ जना सम्पर्कविहीन छन्। तर सेनाले सम्पर्कविहीनको सम्पूर्ण संख्या र सुरुङभित्र फसेका व्यक्तिको संख्या एउटै नभएको स्पष्ट पारेको हो।

सेनासहित सुरक्षा निकाय र विदेशी उद्धारकर्मीको टोलीले प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी राखेको छ। सेनाले यसअघि सुरुङ पूर्ण रूपमा ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी राख्ने प्रतिबद्धता जनाएको थियो।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com