काठमाडौं। गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ ।
जेन–जी आन्दोलनको एक वर्षको अवधिमा अन्तरिम सरकार बन्यो, गैरराजनीतिक अनुहार प्रधानमन्त्री र मन्त्री बने । यसपछि फागुन २१ मा निर्वाचन भयो जहाँबाट रास्वपाको नेतृत्वमा सरकार बनेको छ ।
भदौ २३–२४, २०८२ः जेन–जी आन्दोलन
सरकारले भदौ १९ मा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धविरुद्ध, भ्रष्टाचार, नातावादको विरोधमा जेनजी पुस्ता एकजुट भए । यसपछि आन्दोलन आव्हान् भयो । आन्दोलनमा सहभागी हुन किशोरकिशोरी, युवायुवती स्वतस्फूर्त माइती घर आइपुगे ।
माइतीघर मण्डलाबाट सुरू प्रदर्शन नयाँ बानेश्वरस्थित संसद् भवनतिर अघि बढ्यो । खास यहीँबाट जेनजी आन्दोलनले उग्र रूप धारण गरेको थियो ।
रक्षाकर्मीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गर्दा पहिलो दिन १९ जनाले ज्यान गुमाए । यसपछि देशभर प्रदर्शन झनै चर्कियो । अघिल्लो दिनको घटनाकै कारण भदौ २४ मा कर्फ्युका बाबजुद आन्दोलन रोकिएन ।
सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री र मन्त्री निवास, राष्ट्रपति भवन, अदालतहरू र अन्य सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भयो । थप ५० जनाले ज्यान गुमाए । परिस्थिति नियन्त्रण बाहिर पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । सेनाले स्थिति नियन्त्रणमा लिने प्रयास गर्यो । ओलीको राजीनामा, आगजनी, तोडफोडपछि मात्र परिस्थिति साम्य भयो ।
भदौ २७ : अन्तरिम सरकार गठन
आन्दोलनकारी र सरोकारवालाबीच छलफलपछि (जेन–जी समूहको अनलाइन मतदानसमेत) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति भयो । भदौ २७ मा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरे । सोही दिन प्रतिनिधिसभा विघटन गरियो र फागुन २१ मा निर्वाचन घोषणा भयो ।
पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री नियुक्त भए । उनीहरूले आगजनीबाट क्षतिग्रस्त शीतल निवासमा टाँगिएको टेन्टमुनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भदौ ३० मा शपथ लिए ।
अन्तरिम सरकार गठनदेखि निर्वाचनको अवधिमा बालेन्द्र शाह (बालेन)दलीय राजनीतिमा प्रवेश गरे । पुस १३ मा उनी औपचारिक रूपमा रास्वपा प्रवेश गरे । उनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेद्वार बनायो । उनले माघ पहिलो साता काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिए । यसपछि आम निर्वाचनमा होमिए ।
असोज : ३५ दिनपछि देउवा सार्वजनिक
जेनजी आन्दोलनमा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवामाथि बुढानिलकण्ठस्थित निवासमा निर्घात कुटपिट भएको थियो । यसपछि उनी उपचारमा थिए, सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
घटनाको ३५ दिनपछि देउवा सार्वजनिक भएका थिए । असोज २८ मा आयोजित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन उनी सानेपास्थित पार्टी कार्यालय पुगेका थिए । त्यही बैठकपछि देउवाले आफू उपचार गर्न विदेश जाने भन्दै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबहाक सभापतिको जिम्मा दिएका थिए ।
पुस ३० : सभापतिमा गगनको उदय
जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलमा उथलपुथल मच्चियो । पुराना नेताले पार्टीको नेतृत्व छोडेर जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने बहस चर्कियो ।
एमाले र माओवादीमा नेतृत्व फेरिएन । तर, कांग्रेसको आन्तरिक राजनीति बद्लियो, जसको असर आज उप्रान्त देखिन्छ । सभापतिबाट शेरबहादुर देउवालाई हटाउने गरी तत्कालीन महामन्त्री गगनकुमार थापालगायत नेताहरू एकजुट भए । उनीहरूले कांग्रेसको विशेष महाधिवेशन बोलाए, जहाँबाट सभापतिमा गगनको उदय भयो ।
विशेष महाधिवेशन २०८२ साल पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो। विशेष महाधिवेशनबाट २०८२ साल पुस ३० गते थापा कांग्रेस सभापतिमा निर्विरोध निर्वाचित भए हुन त, जेनजी आन्दोलनभन्दा पहिले नै गगन कांग्रेसको नेतृत्वमा आउन चाहेका थिए । तर, आन्दोलनपछि पुराना नेताविरुद्धको वितृष्णासहितको घटनाक्रमले गगनलाई थप सहज परिस्थिति बन्यो ।
फागुन २१ : आम निर्वाचन
पूर्वघोषणाअनुसार फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन भयो । रास्वपाले अप्रत्याशित भारी बहुमत १८२ सिट ल्यायो । बालेन शाह झापा–५ बाट उम्मेदवार बने र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराए ।
चुनावभन्दा करिब डेढ महिनाअघि पार्टीको नेतृत्वमा आएका कांग्रेस सभापति गगनकुमार थापा पनि पराजित भए ।
हुन त देउवाविरुद्ध लागेकाले कांग्रेसकै एउटा तप्काले चुनावमा गगनलाई साथ नदिएको चर्चा हुन्छ । तर, देशभरको परिस्थिति हेर्दा पुराना दलका व्यक्तिले चुनाव जित्ने अवस्था पनि नरहेको नतिजाले देखाउँथ्यो । त्यसमाथि मधेशमा बालेनको व्यक्तिगत र रास्वपाको प्रभाव बढ्दा गगनको हार हुने अवस्था बन्यो ।
पुराना पार्टीले अपूरणीय क्षति व्यहोर्दा श्रम संस्कृति पार्टी पहिलोपटक संसदमा प्रवेश गरेको विषय पनि गत वर्षको एउटा स्मरणीय घटनाक्रम हो ।
चैत–१२ : सांसदको शपथ
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकाको शपथ चैत १२ मा भयो । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्वाचित २७४ सदस्यलाई शपथ गराएका थिए । यसपछि रास्वपाले बालेनलाई संसदीय दलको नेता बनायो ।
चैत १३ : प्रधानमन्त्री नियुक्ति
अघिल्लो दिन सांसदको शपथ भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाए । उनले रास्वपा संसदीय दलका नेता बालेनलाई चैत १३ मा प्रधानमन्त्री नियुक्त गरे ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई प्रधानमन्त्री नियुक्त गरे । बालेनले चैत १३ मा शपथ १२ः३४ बजेको शुभ साइतमा शपथ लिए । यससँगै उनी ३६ वर्षीय र मधेशी समुदायका पहिलो प्रधानमन्त्री बने । उनले पहिलो चरणमा १४ जना मन्त्री पनि नियुक्त गरेका थिए ।
चैत १४ : ओली–लेखक पक्राउ
बालेन शाह प्रधानमन्त्री बनेको भोलिपल्टै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे । आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको घातक दमन र ७० भन्दा बढीको ज्यान गएको घटनामा उनीहरूमाथि ज्यानसम्बन्धी कसुर गरेको अभियोग लगाइएको थियो ।
सरकारले पर्याप्त तयारी नगरी पक्राउ गर्दा उनीहरूलाई हिरासतमा राख्न र थप कारबाही गर्न प्रमाण पुगेन । जसका कारण सर्वोच्च अदालतले चौँथोपटक म्याद नथप्न र अनुसन्धान पूरा नभए हिरासतमुक्त गर्न आदेश दिएको थियो । यसपछि १३ दिन हिरासत बसेर ओली–लेखक रिहा भए
विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्म के–के भयो ? तस्बिरमा हेरौँ :




















प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया