काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले भाषण र प्रतिबद्धताअनुसार काम गरेको भए भोटेकोशी बाढीमा धेरै नागरिकको ज्यान जोगाउन सकिने बताएका छन्।
बाढी प्रभावित रसुवाको स्थलगत अवलोकनपछि मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले विपद्पूर्वको कमजोर तयारी, उद्धारमा भएको ढिलाइ र आवश्यक उपकरणको अभावका कारण क्षति थप गम्भीर बनेको आरोप लगाए।
रसुवाको धुन्चेमा रहेका उनले स्याफ्रुबेँसीसम्म पुगेर फर्किँदा बाढीले पहाड नै भत्काएर बगाएको भयावह दृश्य देखेको बताए।
‘सरकारले मुखले बोलेजति काम पनि गरेको भए यो विपद्मा धेरैको ज्यान बचाउन सकिन्थ्यो,’ साम्पाङले भने, ‘विपद् व्यवस्थापनमा सरकारले जुन स्तरको परिणाम दिनुपर्थ्यो, त्यो कतै देखिएन।’
उनले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका छ जना श्रमिकको उद्धार प्रसंग उठाउँदै उद्धारमा खटिएका सुरक्षाकर्मीलाई समेत आवश्यक स्रोत–साधन उपलब्ध नगराइएको आरोप लगाए।
‘सुरुङ खोल्न लगिएको जेनेरेटर नै गतिलो रहेनछ, काम गर्न सकेन। अहिले बल्ल बिजुलीको लाइन तानेर काम भइरहेको छ,” उनले भने, “उद्धारमा खटिएका सेना र प्रहरीलाई एउटा राम्रो गैंती र बेल्चासमेत नदिई पठाएर उद्धार कसरी हुन्छ?’
विपद् आएको १४ दिन बितिसक्दा पनि प्रभावित नागरिकहरू जोखिम मोलेर नदीमा लट्ठा तानेर आवतजावत गर्न बाध्य रहेको भन्दै साम्पाङले उद्धार र राहतमा राज्यको उपस्थिति अझ प्रभावकारी हुनुपर्ने बताए।
उनले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई अत्याधुनिक उद्धार उपकरणसहित प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए।
राहत वितरण प्रणालीप्रति समेत प्रश्न उठाउँदै साम्पाङले राहत सामग्री एक ठाउँमा थुपारिए पनि दुर्गम गाउँसम्म प्रभावकारी रूपमा पुर्याउन नसकिएको बताए।
‘कतिपय ठाउँमा मानिसहरूले अझै पर्याप्त खाना पाउन सकेका छैनन्। राहत सामग्री गोदाम वा एकै स्थानमा थुप्रिएको छ, तर आवश्यकतामा रहेका नागरिकसम्म पुगेको छैन,’ उनले भने।
उनले हेलिकोप्टरलगायत उपलब्ध साधनको समेत प्रभावकारी परिचालन हुन नसकेको टिप्पणी गरे।
साम्पाङले राहतका नाममा संकलन भएको रकमको खर्च पूर्ण रूपमा पारदर्शी बनाउन माग गर्दै घरबारविहीन बनेका नागरिकको पुनर्स्थापना र अस्थायी शिविरका रूपमा प्रयोग गरिएका विद्यालयको पठनपाठन पुनः सञ्चालनका लागि सरकारले तत्काल योजना बनाउनुपर्ने बताए।
आफू सरकारको आलोचना गर्न मात्र नभई विपद्पीडितलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यका साथ ‘हेल्पिङ रोल’मा रसुवाको प्रभावित क्षेत्रमा पुगेको उनले स्पष्ट पारे।
विपद्को समयमा आरोप–प्रत्यारोपभन्दा नागरिकको जीवन रक्षा, प्रभावकारी उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने साम्पाङको भनाइ छ।
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया