काठमाडौं । नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा प्राविधिक सहयोग र समन्वयका लागि पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई आग्रह गरेको छ।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि परिचालन गरिएको विदेशी विज्ञसहितको टोलीलाई आयोजनाको पावरहाउस र प्राविधिक संरचनासम्म पुग्न आवश्यक समन्वय तथा सुझाव दिन सेनाले घिसिङको सहयोग मागेको हो।

नेपाली सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारी साधनमार्फत घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले बुधबार जनाएको छ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको छ। प्रभावित नौवटा प्रमुख क्षेत्रमा उद्धारको काम जारी रहेकामा सात स्थानमा अहिले पनि खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको जनाइएको छ।

विशेषगरी चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रको उद्धार कार्यलाई चुनौतीपूर्ण मानिएको छ। सुरुङको भौगोलिक तथा प्राविधिक संरचना बुझ्न सक्ने दक्ष जनशक्ति र विज्ञको समन्वय आवश्यक परेपछि सेनाले पूर्वऊर्जामन्त्री घिसिङको सहयोग लिएको हो।

त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ भने चार हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य निकायको सहभागितामा खोज तथा उद्धार अभियान निरन्तर जारी रहेको छ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com