काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिदप्रति राज्यले देखाउनुपर्ने संवेदनशीलता र गम्भीरता नदेखाएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सहिद रसिक खतिवडाकी आमासमेत रहेकी सांसद खतिवडाले जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि सहिद परिवारले न्याय र सम्मानको अनुभूति गर्न नसकेको गुनासो गरिन्।

उनले देशले सहिद घोषणा गरेको र सार्वजनिक बिदासमेत दिएको भए पनि सहिदप्रति राज्यको व्यवहार र जिम्मेवारी अपेक्षाअनुसार गम्भीर हुन नसकेको बताइन्।

जेनजी सहिद स्मृति दिवसका अवसरमा प्रधानमन्त्रीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको भए पनि प्रधानमन्त्रीको उपस्थिति नभएको र बेलुकी ७ बजे मात्र सामाजिक सञ्जालमार्फत सामान्य सन्देश सार्वजनिक भएको उनको भनाइ थियो।

‘सहिदले न्याय पाउन अझै कति वर्ष लाग्छ, सरकार?’ उनले संसद्मा प्रश्न गरिन्।

सांसद खतिवडाले सहिद परिवार तथा आन्दोलनका क्रममा घाइते भएका नागरिक र उनीहरूका परिवारप्रति सरकारले पर्याप्त चासो नदिएको आरोपसमेत लगाइन्।

‘सहिद परिवारलाई भेट्न सरकारलाई अब कति वर्ष लाग्छ? घाइते र उनीहरूका परिवारको पीडा बुझ्न कहिलेसम्म पर्खनुपर्ने हो?’ उनले प्रश्न गरिन्।

उनले सहिदको सम्मान केवल औपचारिक घोषणा, सार्वजनिक बिदा वा सामाजिक सञ्जालका सन्देशमा सीमित हुन नहुने भन्दै पीडित परिवारलाई न्याय, सम्मान र आवश्यक सहयोग उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।

सहिद परिवारको पीडा र बलिदानलाई राज्यले व्यवहारमै सम्मान गर्न नसकेसम्म सहिदप्रतिको सम्मान अपूरो रहने सांसद खतिवडाको भनाइ थियो।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com