काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको विषय अब पार्टीको आन्दोलनको प्रमुख एजेन्डा बन्न सक्ने बताएका छन्।
बुधबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले जेनजी आन्दोलनपछि विघटन भएको संसद् पुनर्स्थापनाका लागि आन्दोलन आवश्यक पर्न सक्ने चेतावनी दिएका हुन्।
उनले आगामी असोज ६ र ७ गते बस्ने पार्टी बैठकमा संसद् पुनर्स्थापनाको विषय प्रमुख एजेन्डाका रूपमा छलफलमा आउने जानकारी दिए।
‘कतिपय साथीहरूले संसद् पुनर्स्थापनाको विषयमा प्रश्न गर्नुभएको छ,’ उनले भने, ‘यसपटकको बैठकमा हामी यस विषयमा गम्भीर छलफल गर्नेछौँ।’
विगतमा समेत राजनीतिक प्रतिगमन सच्याउन संसद् पुनर्स्थापनाको बाटो अपनाइएको स्मरण गर्दै बस्नेतले एमालेले यसअघि पनि संसद् पुनर्स्थापनाका लागि भूमिका खेलेको दाबी गरे।
उनले अहिलेको राजनीतिक परिस्थितिमा पनि प्रतिगमन सच्याउन अघिल्लो संसद् पुनर्स्थापना एउटा महत्वपूर्ण र क्रान्तिकारी कदम हुन सक्ने बताए।
संसद् पुनर्स्थापनासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कानुनी तथा राजनीतिक दुवै पक्षबाट यसबारे छलफल गरिने उनको भनाइ थियो।
यसैबीच बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएलगत्तै पदबाट राजीनामा दिन सुझाव दिएका छन्।
बालेन नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ, मुलुकले त्यति नै बढी क्षति व्यहोर्नुपर्ने उनको दाबी थियो।
‘सरकारप्रति जनताको आक्रोश बढिरहेको छ। जनताको आक्रोशलाई रोक्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले राजीनामा नदिए पुनः आन्दोलन घोषणा हुने चेतावनी दिँदै बस्नेतले संसद् पुनर्स्थापनालगायतका विषय आन्दोलनको प्रमुख एजेन्डा बन्न सक्ने बताए।
‘राजीनामा नदिए दोस्रो भदौ २३ र २४ गतेजस्तै आन्दोलनको घोषणा हुनेछ,’ उनले चेतावनी दिँदै भने, ‘संसद् पुनर्स्थापनासहितका विषय आन्दोलनको एजेन्डा बन्नेछन्।’
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया