काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको मानवीय र भौतिक क्षति विश्व समुदायका लागि गम्भीर चिन्ताको विषय बनेको बताएका छन्।

नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएका प्राकृतिक विपत्तिप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने बताए।

उनले जलवायु परिवर्तनको असर नेपालमा मात्र सीमित नभई विश्वव्यापी रूपमा विपत्तिको शृङ्खला निम्त्याइरहेको उल्लेख गर्दै यसको प्रभाव भने नेपालजस्ता विकासोन्मुख र जोखिमयुक्त मुलुकले बढी भोग्नुपरेको बताए।

‘अहिले जलवायु परिवर्तनको असरबाट नेपाल आक्रान्त छ। यसको प्रभाव नेपालमा मात्र होइन, विश्वभर देखिएको छ,’ देउवाले भने, ‘तर नेपालजस्ता मुलुकले यसको सबैभन्दा ठूलो मार खेप्नुपरेको छ।’

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभई विश्वव्यापी चुनौती भएकाले समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमै प्रभावकारी र ठोस पहल आवश्यक रहेको उनको भनाइ थियो।

देउवाले जलवायुजन्य विपत्तिका कारण नेपालमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित मुलुकले न्याय र क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए।

‘जलवायु संकटको मारका कारण नेपालमा धेरै मानिसले ज्यान गुमाएका छन्, भौतिक संरचना ध्वस्त भएका छन्,’ उनले भने, ‘यसका लागि विश्व समुदायले नेपाललाई न्याय दिनुपर्छ।’

उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा सम्झौतामा भएका प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विकसित राष्ट्रहरूलाई आग्रह गरे।

विपद्को कठिन घडीमा राजनीतिक दलहरू दलगत स्वार्थभन्दा माथि उठेर पीडित नागरिकको खोज, उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने देउवाले बताए।

‘यस्तो विपत्तिको समयमा हामी सबै एकजुट हुनुपर्छ,’ उनले भने, ‘सरकार र सबै राजनीतिक दल मिलेर काम गरे मात्र पीडितले वास्तविक राहत पाउन सक्छन् र भविष्यका जोखिमसँग जुध्न बलियो संरचना निर्माण गर्न सकिन्छ।’

देउवाले विपद् व्यवस्थापनमा सरकारको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने तथा स्थानीय तहदेखि नै पूर्वतयारी, जोखिम न्यूनीकरण र आवश्यक संरचना निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेपालले आफ्नो क्षमता र स्रोतअनुसार जलवायु परिवर्तनको असर न्यूनीकरण तथा प्राकृतिक विपत्तिबाट नागरिकको सुरक्षा गर्न प्रयास जारी राख्ने भए पनि अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com