काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिएको छ।
शव पहिचानका क्रममा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्रहरीले आधुनिक फोरेन्सिक प्रविधिअन्तर्गत डीएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणको कामलाई सूक्ष्म र व्यवस्थित रूपमा अघि बढाएको जनाएको छ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट संकलन भई प्राप्त भएका डीएनए नमुनाको परीक्षण गरिरहेको छ। नमुना संकलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताए।
प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा सम्भावित आफन्तबाट संकलित नमुना प्राप्त हुने क्रम जारी छ। उनका अनुसार प्राप्त नमुनालाई सुरक्षित भण्डारण गर्दै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरेर डीएनए परीक्षणको काम चौबिसै घण्टा भइरहेको छ।
प्रहरीका अनुसार हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट संकलित ३४८ वटा नमुना र ८४ वटा मृतकका औँलाछापसम्बन्धी नमुना गरी जम्मा एक हजार २४० वटा नमुना डीएनए तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्रयोगशालामा प्राप्त भएका छन्।
हालसम्म २६ जिल्लाबाट डीएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएको प्रहरीले जनाएको छ। पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका एक हजार २८६ तथा आफन्तका एक हजार ४१२ गरी कुल दुई हजार ६७८ वटा डीएनए नमुना संकलन गरिएको छ।
मृतकबाट संकलित नमुनामध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासी पूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ वटा नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० जना मृतकका आफन्तबाट नमुना संकलन गरिएको छ। अन्य जिल्लामा पनि आफन्तबाट नमुना संकलन गर्ने कामलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
डीएनए प्रोफाइलिङ व्यक्तिको पहिचान पुष्टि गर्नुका साथै व्यक्तिबीचको जैविक सम्बन्ध स्थापित गर्न प्रयोग हुने प्रभावकारी वैज्ञानिक विधि हो। भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि पनि प्रहरीले डीएनए प्रोफाइलिङको दायरा विस्तार गरेको छ।
बाढीमा फेला परेका शव तथा शरीरका विभिन्न अङ्गको पहिचानका लागि मृतकबाट संकलित नमुना र सम्भावित आफन्तका नमुनाबीच वैज्ञानिक तुलना गरिनेछ। त्यसबाट प्राप्त नतिजाका आधारमा शव तथा शरीरका अङ्गको पहिचान यकिन गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यस प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन तथा निगरानी गरिरहेका छन्। उनले शव पहिचान तथा डीएनए परीक्षणसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको सूक्ष्म अध्ययन गरी वैज्ञानिक विधि र निर्धारित मापदण्डअनुसार काम गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले पनि डीएनए नमुना संकलन, सुरक्षित भण्डारण तथा परीक्षण प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाइएको जानकारी दिएका छन्।
भोटेकोशी बाढीपछि ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन तथा बेपत्ता रहेकाले शव पहिचानमा डीएनए परीक्षणलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। प्रहरीले पहिचान नखुलेका शव तथा शरीरका अङ्गको वैज्ञानिक परीक्षणमार्फत आफन्तलाई यथार्थ जानकारी उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया