एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चार सहयोगीलाई ठूलो रकमको नगद ‘बिदाइ उपहार’ दिएको खुलेको छ।

प्रशासनले गत साता सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार ट्रम्पले कार्यकारी सहायक नताली हार्प, सञ्चार सल्लाहकार मार्गो मार्टिन र ओभल अफिस अपरेसनका उपनिर्देशक चेम्बरलेन ह्यारिसलाई जनही ४५ हजार अमेरिकी डलर दिएका छन्। त्यस्तै, ओभल अफिस अपरेसनका निर्देशक वाल्ट नौटाले २० हजार डलर प्राप्त गरेका छन्।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्पले आफ्ना कर्मचारी तथा आफू निकट व्यक्तिहरूलाई क्रिसमसका अवसरमा उपहार दिने लामो समयदेखिको परम्परा रहेको बताएका छन्। उनका अनुसार यी नगद उपहार सम्बन्धित व्यक्तिको सरकारी जिम्मेवारीसँग जोडिएका नभएकाले कानुनी तथा नैतिक मापदण्डअनुसार अनुमति योग्य छन्।

उपहारसम्बन्धी विवरण पहिलोपटक मंगलबार द वासिङ्टन पोस्टले सार्वजनिक गरेको थियो। ट्रम्पसँग प्रायः देखिने हार्प राष्ट्रपतिका लागि अनुकूल समाचार तथा सामाजिक सञ्जालका सामग्री तत्काल प्रिन्ट गर्न पोर्टेबल प्रिन्टर बोकेर हिँड्ने गरेको बताइएको छ। ट्रम्पले डिजिटल स्क्रिनमा भन्दा कागजमा महत्वपूर्ण जानकारी पढ्न रुचाउने गरेको उल्लेख छ।

मार्टिन ट्रम्पको पहिलो कार्यकालदेखि नै उनको सञ्चार टोलीमा कार्यरत छिन्। ह्यारिसलाई यसै वर्ष अमेरिकी ललित कला आयोगमा नियुक्त गरिएको थियो भने नौटाले यसअघि ट्रम्पको भ्यालेटका रूपमा काम गरेका थिए।

नौटा र मार–ए–लागोका प्रबन्धक कार्लोस डे ओलिभेरामाथि सन् २०२३ मा ट्रम्पसँग सम्बन्धित वर्गीकृत कागजातसम्बन्धी एफबीआई अनुसन्धानमा अवरोध गरेको आरोप लागेको थियो। यद्यपि उक्त आरोप सन् २०२४ मा खारेज भएको थियो।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com