काठमाडौं । जेनजी पुस्ताले भ्रष्टाचारको बिरुद्ध र राजनीतिक जवाफदेहिता सहितको सुशासन माग गर्दै वि.स २०८२ साला भदौ २३ भएको आन्दोलन २०८३ भदौ २३ गते एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा जेनजी युवा पुस्ताको आन्दोलनले नेपालको राजनीतिक दिशामै ठूलो परिवर्तन ल्यायो। आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो र भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य जिम्मेवारी राजनीतिक स्थायित्व कायम गर्ने, जेनजी आन्दोलनका बेला भएको घटनाको छानबिन गर्ने तथा प्रतिनिधिसभाको निर्वाचन गराउने रहेको थियो। आन्दोलनकै पृष्ठभूमिमा गठन भएको उक्त सरकारले निर्वाचन सम्पन्न गराएपछि नयाँ राजनीतिक समीकरण निर्माण भयो।
त्यही जेनजी आन्दोलनको जडमा टेकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई नजिकको बहुमत प्राप्त गर्यो ।
तर, आन्दोलनको एक वर्ष पुग्दा पनि जेनजीले उठाएका प्रश्न भने अझै समाधान भएका छैनन्। आन्दोलनमा सहभागी केही युवा अहिले प्रतिनिधिसभा सदस्यका रूपमा संसद्मामा पुगेका छन्। अर्कोतर्फ, केही जेनजी युवा भने जेनजीका माग पूरा नभएको भन्दै अझै सडक संघर्षमा छन्। आन्दोलनका क्रममा पक्राउ परेका केही युवा अहिले पनि प्रहरी हिरासतमा रहेको जेनजी पुस्ताका युवाहरूको दाबी छ।
यसैबीच, जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदको सम्झनामा निर्माण गरिएको जेनजी शहीद पार्कमा राखिएका शालिकको स्वरूपलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। सम्बन्धित शहीदको वास्तविक अनुहारसँग बनाएको शालिकमा अनुहार नमिलेको भन्दै निर्धारित अनावरण कार्यक्रम स्थगित गरिएको छ ।
शालिक अनावरण कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, रास्वपाका प्रवक्ता जगदीश खरेलसहित रास्वपाका सांसद तथा जेनजी आन्दोलनका शहीदका परिवारजनको समेत सहभागिता थियो। शहीदको सम्मान र सम्झनाका लागि तयार गरिएको संरचनामा राखिएका सहिदका शालिकसँग अनुहार नमिलेपछि जेनजी सहिदकि आमाले नै प्रश्न उठाएपछि कार्यक्रम रोकिएको र उक्त घटनाले आन्दोलनको स्मरण गर्ने तरिकामाथि पनि प्रश्न उठाएको छ।
सरकारले भने जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई औपचारिक रूपमा शहीद घोषणा गरिसकेको छ। गृहमन्त्रालयले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएकाहरूको विवरणसमेत सार्वजनिक गरेको छ।
एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताको आन्दोलनले सरकार परिवर्तनदेखि अन्तरिम सरकार गठन र निर्वाचनसम्मको राजनीतिक प्रक्रियालाई प्रभावित गर्यो। तर, आन्दोलनका बेला जेनजीले उठाएका माग सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक संन्जाल प्रतिबन्ध रोक, जवाफदेहिता र राज्य संयन्त्रमा सुधारका प्रश्न कति सम्बोधन भए भन्ने बहस भने अझै सकिएको छैन।
आन्दोलनले खोजेको परिवर्तन कहाँ पुग्यो? आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र उनीहरूले उठाएका मुद्दालाई संस्थागत गर्ने विषयमा समेत प्रश्न उठिरहेका बेला शहीदको सालिक नै विवादमा पर्नुले जेनजी आन्दोलनको एक वर्षे स्मरणलाई थप चर्चामा ल्याएको छ।
आन्दोलनको एक वर्षमा केहि जेनजी पुस्ताको यात्रा सडकदेखि संसद्सम्म पुगे पनि बास्तबिक जेनजी पुस्ताको माग र शहीदको सम्मानको सवाल भने अझै टुंगिन बाँकी रहेको देखिन्छ ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया