काठमाडौं । यशोदा ग्रुप अन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग गरेका छन्।
कम्पनीहरुले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोगस्वरूप उपलब्ध गराएका हुन्। यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र यशोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद शर्माले संयुक्त रूपमा उक्त रकमको चेक नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकहरूको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।
यसका साथै, यशोदा फुड्सले बाढी प्रभावित क्षेत्र तथा पीडितहरूलाई राखिएका विभिन्न आश्रयस्थलमा अत्यावश्यक राहत सामग्रीस्वरूप रु. ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएको जनाएको छ। उक्त राहत सामग्री सम्बन्धित निकायमार्फत प्रभावित नागरिकहरूलाई प्रत्यक्ष वितरण गरिएको कम्पनीको भनाइ छ।
बाढीपीडितका लागि आवश्यक परेमा थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन समेत कम्पनी तयार रहेको जनाएको छ।
विपद्को यस कठिन घडीमा आवश्यक पर्ने अन्य कुनै पनि प्रकारको सहयोगका लागि यशोदा ग्रुप इन्डस्ट्रिज प्रालि पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया