काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक तथा व्यावसायिक संरचनाको पुनर्निर्माण तीव्र गतिमा अघि बढाइसके पनि राज्यका प्रमुख संरचना अझै अलपत्र रहेको बताए ।

उनले सिंहदरबार, गृह मन्त्रालय र संसद् भवनलगायतका सरकारी संरचनाको पुनर्निर्माण अपेक्षित गतिमा अघि बढ्न नसकेको बताए ।

राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माण नै सुस्त भइरहेका बेला रसुवा, नुवाकोटलगायत बाढी तथा विपद् प्रभावित क्षेत्रका नागरिकले आफ्नो घर, संरचना र पूर्वाधारको पुनर्निर्माण समयमै हुनेमा कसरी विश्वास गर्ने भन्ने प्रश्न उनले उठाए ।

निजी क्षेत्रले देखाएको पुनर्निर्माणको गति र उत्साहको प्रशंसा गर्दै आचार्यले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ ।’

तर सरकारी संरचनाको अवस्था भने अझै उस्तै रहेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु । योपालिको बजेट नै नयाँ संसद् हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु,’ उनले भने ।

सरकारी संरचनाको पुनर्निर्माणमा देखिएको ढिलाइले राज्यको पुनर्निर्माण क्षमता र विपद् प्रभावित नागरिकको विश्वासमा समेत प्रश्न उठाउने उनको भनाइ थियो ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com