काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, कानुन र स्थापित प्रक्रियाअनुसार चल्नुपर्नेमा पहुँच र सीमित स्वार्थका आधारमा चल्न थालेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले जेनजी आन्दोलनको मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

विधिको शासनका लागि आन्दोलनमा उत्रिएका युवाको जगमा बनेको सरकारले नै विधि र प्रक्रिया मिच्न थालेको उनको आरोप थियो ।

राईले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको भन्दै संस्थाको स्वायत्तता कायम गर्न माग गरे । रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश र जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न उनले सरकारको ध्यानाकर्षण गराए ।

विधान र कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्ने अवस्था सिर्जना गर्नसमेत उनले आग्रह गरे ।

त्यस्तै, मलेसियामा वैदेशिक रोजगारीका लागि सीमित २५ वटा व्यवसायी संस्था छनोट गर्ने तयारीप्रति पनि राईले आपत्ति जनाए । छनोटको संख्या, मापदण्ड र प्रक्रिया पारदर्शी बनाउन उनले माग गरे ।

स्वास्थ्य बिमा कार्यक्रममा नागरिकलाई जोड्न घरघर पुग्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयसमेत उनले उठाए । नागरिकलाई स्वास्थ्य बिमामा जोड्ने श्रमिककै श्रम असुरक्षित रहेको टिप्पणी गर्दै उनले प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न माग गरे ।

रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बिमाका विषय फरक भए पनि यी सबैको मूल प्रश्न राज्य विधि र प्रक्रियाबाट चल्छ कि पहुँचका आधारमा भन्ने रहेको राईको भनाइ थियो ।

‘एउटा रेडक्रसको विषय, एउटा रोजगारीको विषय, अर्को स्वास्थ्य बिमाको, तर धागो एउटै छ । रेडक्रसको प्रसंग संस्थाको स्वायत्तताको हो । रोजगारीको प्रश्न निष्पक्ष प्रतिस्पर्धाको हो । दर्ता सहयोगीको प्रश्न श्रमको समानताको हो,’ उनले भने ।

उनले थपे, ‘यी तीनवटै प्रश्नको मूल प्रश्न एउटै हो, राज्य विधिबाट चल्छ कि पहुँचबाट भन्ने कुरा । संस्था नियमले चल्छ कि रुचिले । सरकार नागरिकको सेवामा छ कि सीमित स्वार्थको संरक्षणमा ?’

राईले सरकारका मन्त्रीहरूले पछिल्लो समय दिएका अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाए ।

गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौँ’ भनेको प्रसंग उल्लेख गर्दै राईले प्रतिपक्ष सिक्न तयार रहेको बताए । तर, आफूहरू विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र सिद्धान्त सिक्न तयार रहेको उनको भनाइ थियो ।

‘हामी सिकाउन आएका हौँ भन्ने कुरा पनि सुनियो । हामी सिक्न तयार छौँ । हामी प्रतिपक्षी दल सधैँ सिक्न तयार छौँ,’ उनले भने, ‘संस्कार सिक्न चाहन्छौँ । विधि, प्रक्रिया, पद्धति सिक्न चाहन्छौँ । विधानसङ्गत कुरा सिक्न चाहन्छौँ । सहिष्णुता सिक्न चाहन्छौँ, सिद्धान्त सिक्न चाहन्छौँ ।’

तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह र भ्रम फैलाउने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए ।

‘तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह, भ्रम यी कुराहरू हामी अहंकार सिक्न आएका होइनौँ,’ उनले भने ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com