काठमाडौं। धनुषाको धनौजी गाउँपालिका–२ मा सडक निर्माणको काम नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गौरदाहादेखि लखौरीसम्मको सडक निर्माणका लागि झुट्टा प्राविधिक बिल, नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २४ लाख १५ हजार १२० रुपैयाँ भुक्तानी गरिएको थियो। साथै, सूचना सार्वजनिक नगरी कागजी प्रक्रिया पूरा गरेको देखाएर २ लाख ४९ हजार ५०४ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ।
यस प्रकरणमा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, सिअहेव उमेर साह, तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहुसहित ९ जनालाई प्रतिवादी बनाइएको छ। अख्तियारले प्रतिवादीहरूबाट २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो असुल, कैद र जरिवानाको मागदाबी गरेको छ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया