काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशन विभाजनको नभई एकताको महाधिवेशन हुनुपर्ने बताएका छन्।

शाहीले पार्टीभित्र देखिएका विवाद, मनमुटाव र बाँकी असहमतिलाई अन्त्य गर्न सबै पक्षले घमण्ड र अहंकार त्यागेर लचकताका साथ सहमति र सहकार्यमा अघि बढ्नुपर्ने बताए । उनले सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता नगरी एकपक्षीय ढंगले गरिने महाधिवेशनको कुनै औचित्य नरहने स्पष्ट पारेका छन् ।

शाहीका अनुसार महाधिवेशन पार्टीका लागि पर्व, उत्सव र नेतृत्व परिवर्तनको अवसर हो। तर वर्षौंदेखि जिल्ला अधिवेशनमार्फत नेतृत्व परिवर्तनको प्रतीक्षामा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई अधिवेशन गर्नबाट रोक्ने र प्रदेश अधिवेशनसमेत नगर्ने निर्णय गैरलोकतान्त्रिक तथा पार्टी विधानविपरीत भएको उनले आरोप लगाएका छन् ।

‘जिल्ला र प्रदेशमा नेतृत्व परिवर्तन नचाहिने तर आफू हुने केन्द्रको पदमा मात्रै परिवर्तन चाहिने रु यो कस्तो अनौठो तरिका हो रु’ शाहीले प्रश्न गरेका छन्।

उनले जिल्ला र प्रदेश अधिवेशन नगरी हतारमा कागजी महाधिवेशन गर्ने तथा विगतमा विशेष महाधिवेशनमा जस्तै सीमित गुटका मानिस मात्र जम्मा गरेर महाधिवेशनको नाममा औपचारिकता पूरा गर्ने प्रयासले पार्टीलाई थप कमजोर बनाउने खोजेको भन्दै शाहीले चेतावनी दिएका छन्।

शाहीले सबै पक्षलाई सहमतिमा ल्याएर सम्पूर्ण एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै मनोमानी र एकलकाँटे ढंगले ‘कर्मकाण्डी महाधिवेशन’को प्रचार गर्नुले नेपाली कांग्रेसलाई थप कमजोर, क्षतविक्षत र छिन्नभिन्न बनाउने दाबी गरेका छन्। यस्तो प्रवृत्तिले कांग्रेसको लामो राजनीतिक इतिहाससमेत समाप्त पार्ने खतरा रहेको उनको भनाइ छ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com