काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजीव खत्रीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमजोर नठान्न चेतावनी दिएका छन्। नेकपाका नेता वर्षमान पुनको पछिल्लो अभिव्यक्तिलाई लक्षित गर्दै खत्रीले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
फेसबुकमा स्टाटस लेख्दै खत्रीले पूर्वराजा ज्ञानेन्द्रले देशको शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको दाबी गरेका छन्। उनले राजतन्त्रविरुद्ध हतियार उठाएर आएको भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिनेहरूलाई लक्षित गर्दै व्यंग्यसमेत गरेका छन्।
खत्रीले लेखेका छन्, ‘राजाविरुद्ध हतियार उठाएर आएको हो, नजिस्क्याउनु भन्दै धम्की दिएको एउटा भिडियो हेरेँ । आज पनि ज्ञानेन्द्र शाह बाटोमा हिँड्दा ‘फेरि राजै हुन आए’ भन्दै तर्सिने नक्कली बहादुरहरूले गफ दिएको सुनेर हाँस उठ्यो ।’
पूर्वराजा ज्ञानेन्द्रलाई ‘धेरै सोझो’ व्यक्तिका रूपमा चित्रण गर्दै उनले शान्ति र स्थिरताका लागि गरिएको त्यागलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाह धेरै सोझो भएर हो । शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको कुरालाई कमजोरी नठाने हुन्छ । ज्ञानेन्द्र अत्याचार गर्नेमा होइन, इतिहास सिर्जना गर्ने शासक हुन् । जनयुद्धले इतिहास त रच्यो, तर अत्याचारको ।’
खत्रीले त्याग गर्न सक्ने व्यक्तिको मूल्याङ्कन झुटा आरोपका आधारमा नभई इतिहास र योगदानका आधारमा गर्नुपर्ने धारणा राखेका छन्। साथै उनले पूर्वराजा ज्ञानेन्द्रलाई अझै पनि कमजोर नठान्न आग्रह गर्दै राजा फर्काउने नाममा राजनीति गर्ने दलका नेताहरूलाई ‘नक्कली राजावादी’को संज्ञासमेत दिएका छन्।
यसअघि नेकपाका नेता वर्षमान पुनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू निरंकुश राज्यसत्ताविरुद्ध बन्दुक उठाएर आएको भन्दै कसैले धम्क्याउने प्रयास नगर्न चेतावनी दिएका थिए। पुनको उक्त अभिव्यक्तिपछि खत्रीको प्रतिक्रिया सार्वजनिक भएको हो।
प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया