काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई राजनीतिक अनिश्चितताबाट निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देश लामो समयदेखि राजनीतिक अस्थिरता र अनिश्चितताको अवस्थामा रहेको बताए। विगतका ठूला राजनीतिक परिवर्तनपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको भन्दै उनले अब देशले थप द्वन्द्व र निषेधको राजनीति धान्न नसक्ने दाबी गरे।

प्रमुख राजनीतिक दल र राजाबीच नयाँ समझदारी तथा राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले स्थायी निकास नपाउने उनको भनाइ थियो।

लिङ्देनले आगामी मंसिर २६ देखि २८ गतेसम्म हुने राप्रपाको महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी पार्टीको आगामी राजनीतिक मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने अवसरका रूपमा लिनुपर्ने बताए।

उनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै निर्वाचन जित्ने नाममा सांसद तथा जनप्रतिनिधिले अन्य दलको प्रभावमा पर्ने वा दलीय अनुशासन उल्लङ्घन गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए।

आफू अध्यक्ष रहे पनि नरहे पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने काम नगरेको दाबी गर्दै लिङ्देनले भ्रष्टाचारविरुद्धको आफ्नो अडानमा दृढ रहने प्रतिबद्धता दोहोर्‍याए। उनले काठमाडौं जिल्ला अधिवेशनका प्रत्यासीलाई स्वस्थ र मर्यादित रूपमा लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गरे।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com