काठमाडौं । धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ। पहिरो पन्छाएर तयार पारिएको सडकमा दुवैतर्फबाट सवारीसाधन गुडाएर आवागमनको अवस्था परीक्षण गरिएको हो।

सडक विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनको टोलीले सडक सम्याएर परीक्षणका रूपमा काठमाडौं–चितवन र चितवन–काठमाडौं दुवैतर्फ सवारीसाधन पास गराएको छ। काठमाडौंबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा साना–ठूला सवारीसाधन गुडाइएको छ भने चितवनबाट काठमाडौं आउनेतर्फ एउटा भारी सवारीसाधन पनि पार गराइएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि कृष्णभीरमा रोकिएका ग्यास बुलेट तथा हेभी उपकरण बोकेका सवारीसाधनलाई प्राथमिकताका साथ आवतजावत गराइएको छ।

सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन भने केही काम बाँकी छ। पहिरोले क्षति पुर्‍याएको भित्तातर्फ नाली निर्माण, सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम पूरा गर्नुपर्ने विभागले जनाएको छ।

सडकको भारवहन क्षमता परीक्षण गर्न यसअघि खाली ग्यास बुलेटसमेत गुडाइएको थियो। दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने र सवारीसाधन आवतजावतका लागि आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ।

मौसम अनुकूल रहेमा बाँकी काम सकेर बिहीबारदेखि सडकलाई नियमित रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ।

गत भदौ १० गते आएको त्रिशूली बाढीले कृष्णभीरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। त्यसयता ठूला तथा साना सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com