काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायका सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा व्यापक सुधार गर्ने बताएका छन्।

मधेश प्रदेशको स्थलगत भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री पोखरेलले काठमाडौंका बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने पुरानो अभ्यास अन्त्य गरिने बताए।

विद्यार्थीले अध्ययनसँगै सीप विकास, व्यावहारिक तथा जीवनोपयोगी शिक्षा र विद्यालयको भौतिक तथा प्रविधिगत सुधारका विषयमा दिएका सुझावलाई नयाँ पाठ्यक्रम निर्माणको आधार बनाइने उनको भनाइ छ।

भदौ २६ गते धनुषाबाट सुरु भएको ‘मधेश यात्रा’का क्रममा मन्त्री नेतृत्वको टोलीले सप्तरीका तिलाठी, बोदेबर्साइन, शम्भुनाथ, राजविराज र खडक नगरपालिकालगायतका विभिन्न विद्यालयको अनुगमन गरेको थियो।

विद्यालयदेखि समुदायसम्म पुगेर संकलन गरिएका सुझाव र समस्यालाई तथ्यमा आधारित दस्तावेजका रूपमा तयार गरी आगामी शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम निर्माणमा उपयोग गरिने मन्त्री पोखरेलले बताए।

भ्रमणका क्रममा उनले मधेश प्रदेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, कृषि कलेज स्थापना तथा बर्दिबासमा प्रस्तावित मेडिकल कलेज निर्माणको आवश्यकतामाथि समेत जोड दिए। शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com