काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास घटाउने निर्णय गरेकै बेला उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरेको दाबी गरेको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार शनिबार गरिएको अभ्यासमा एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षण गरिएको थियो। अभ्यासका क्रममा ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्ने क्षमता प्रदर्शन गरिएको उत्तर कोरियाले जनाएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार सोही दिन उत्तर कोरियाले वोनसन क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। उक्त क्षेप्यास्त्र पूर्वी समुद्रतर्फ करिब २५० किलोमिटर उडेको बताइएको छ।

अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्सल पाक जोङ चोनले एकीकृत हतियार प्रणालीले व्यापक रूपमा समन्वित आक्रमण गर्न सक्ने क्षमता देखाएको दाबी गरेका छन्। यद्यपि उत्तर कोरियाले सार्वजनिक गर्ने हतियार परीक्षणसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन हुने गरेको छ।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले यो अभ्यास गरेको हो। गत अगस्टमा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएका थिए।

तर उत्तर कोरियाले सैन्य अभ्यासको अवधि घटाउँदैमा त्यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने भन्दै अमेरिकी प्रस्ताव अस्वीकार गरेको थियो।

विज्ञहरूका अनुसार उत्तर कोरियाको बढ्दो आणविक हतियार क्षमता तथा रूस र चीनसँग गहिरिँदो सम्बन्धले किमलाई अमेरिकासँग सम्भावित वार्तामा विगतको तुलनामा थप बलियो स्थितिमा पुर्‍याएको छ।

किमले यस वर्ष अमेरिकाले उत्तर कोरियाप्रतिको ‘शत्रुतापूर्ण नीति’ त्याग्दै आफ्नो देशको आणविक राष्ट्रको हैसियत स्वीकार गरे वार्तामा फर्कन सकिने संकेत दिएका थिए।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com