काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न प्रस्ताव गरेका हुन् ।
भोटेकोशी बाढीलगायत बाढी, पहिरो, डुबान, कटान र आगलागीजस्ता घटनालाई ‘दैवी प्रकोप’ भन्न नमिल्ने उनको तर्क छ । उनका अनुसार यस्ता घटना या त मानव सिर्जित हुन्छन् या प्राकृतिक विपद्का रूपमा बुझिनुपर्छ ।
‘कि यी मानव सिर्जित हुन्, कि प्राकृतिक विपद् हुन्,’ उनले भने ।
खरेलले २०७४ सालमा जारी भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र २०७६ सालको नियमावलीले समेत ‘दैवी प्रकोप’को अवधारणालाई विस्थापित गरेको बताए ।
उनका अनुसार २०३९ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनलाई विस्थापन गर्दै नयाँ कानुनी व्यवस्था लागू भइसकेकाले सरकारी कोषको नाममा अझै ‘दैवी प्रकोप’ शब्द प्रयोग गर्नु उपयुक्त छैन ।
‘दैवी प्रकोप उद्धार ऐन, २०३९ लाई विस्थापित गरेर नयाँ कानुन आएको छ । त्यसपछि दैवी प्रकोप भन्ने अवधारणा नै छैन,’ उनले भने ।
सांसद खरेलले प्रचलित कानुनी व्यवस्था र विपद् व्यवस्थापनको वर्तमान अवधारणाअनुसार कोषको नामसमेत परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया