मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा सोमबार भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा घाइते चारै जनाको पहिचान खुलेको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गम्भीर घाइते चालकसहित तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ । अर्का एक घाइतेको भने हेटौँडामै उपचार भइरहेको छ ।
काठमाडौं ल्याइएका घाइतेमा बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय चालक अमिर अन्सारी, हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र नाम–थर नखुलेका करिब ३४/३५ वर्षीय पुरुष छन् ।
टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेका उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाराको महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादवको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका चारै जना पुरुषको भने हालसम्म सनाखत हुन सकेको छैन । करिब एक हजार मिटर गहिरो खोंचबाट शव निकालेर उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।
गाडीमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार











प्रतिक्रिया