काठमाडौं । पर्यटन व्यवसायी बलराम सापकोटाले नेपालमा साना–साना क्यासिनोको संख्या बढाउनेभन्दा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने ठूला क्यासिनो विकास गर्न राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पर्यटन विधेयक, २०८१ माथि भएको छलफलका क्रममा सापकोटाले नेपालको क्यासिनो उद्योगलाई ठूलो लगानी, उच्च रोजगारी र अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका हुन्।

उनले क्यासिनोलाई ‘सानो’ र ‘ठूलो’ भनेर विभाजन गर्ने विद्यमान अवधारणामाथि पुनर्विचार गर्नुपर्ने बताए। सबै क्यासिनोका लागि समान मापदण्ड निर्धारण गरी साना क्यासिनोलाई समेत मर्जरमार्फत ठूला र प्रतिस्पर्धी क्यासिनोमा रूपान्तरण गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ।

‘क्यासिनोमा सानो र ठूलो भन्ने विभाजन आवश्यक छैन। सबै क्यासिनोका लागि एउटै मापदण्ड हुनुपर्छ,’ सापकोटाले समितिसमक्ष भने, ‘साना क्यासिनोलाई मर्जर गरेर ठूला क्यासिनो बनाउन सकिने नीति ल्याउनुपर्छ।’

सापकोटाले क्यासिनो व्यवसायलाई केवल मनोरञ्जनको क्षेत्रका रूपमा नभई विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनसँग जोडेर हेर्न आवश्यक रहेको बताएका छन्। त्यसका लागि ठूलो लगानी आकर्षित गर्ने र अन्तर्राष्ट्रियस्तरका क्यासिनो सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

उनले एउटा क्यासिनोले कम्तीमा ३०० देखि ५०० जनासम्मलाई रोजगारी दिने गरी सञ्चालन गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत राखे। यसले क्यासिनो उद्योगलाई रोजगारी सिर्जनाको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सहयोग पुग्ने उनको तर्क छ।

त्यस्तै, क्यासिनो सञ्चालन अनुमति शुल्क बढाएर सरकारले ठूला लगानीकर्तालाई आकर्षित गर्नुपर्ने उनले बताए। साना लगानीमा धेरै क्यासिनो सञ्चालन गराउनेभन्दा सीमित तर ठूलो लगानी, उच्च रोजगारी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता भएका क्यासिनो विकास गर्नु नेपालको पर्यटन क्षेत्रका लागि बढी प्रभावकारी हुने उनको धारणा छ।

छलफलमा अन्य क्यासिनो व्यवसायीहरूले भने इजाजतपत्रको नवीकरण अवधि पाँच वर्ष बनाउनुपर्ने, एउटै होटल परिसरमा एकभन्दा बढी क्यासिनो वा शाखा सञ्चालन गर्न नपाइने व्यवस्था स्पष्ट गर्नुपर्ने तथा नियमित अनुगमनको प्रभावकारी संयन्त्र बनाउनुपर्ने माग राखेका थिए।

व्यवसायीहरूले विदेशमा स्थायी बसोबास गर्ने नेपाली, पीआरधारी नेपाली तथा गैरआवासीय नेपालीलाई क्यासिनो प्रवेशमा सहजता दिनुपर्ने विषयसमेत उठाएका छन्। सीमावर्ती क्षेत्रमा सञ्चालित क्यासिनोका व्यवसायीहरूले भारतीय पर्यटकको आवागमन सहज बनाउन नेपाल–भारत सीमा नाका २४ घण्टा खुला राख्न पहल गर्नुपर्ने माग पनि गरेका छन्।

पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा आएका सुझावलाई विधेयकको आगामी संशोधन प्रक्रियामा कसरी समेट्ने भन्ने विषय भने समितिले टुंगो लगाइसकेको छैन।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com