काठमाडौं । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले बाढीपहिरोपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै तत्काल बजार अनुगमन गरी महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले विपत्तिको कठिन परिस्थितिमा समेत खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेप्नुपरेको बताए।
बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको र अझै खोज तथा उद्धार कार्य जारी रहेको अवस्थामा विपत्तिलाई अवसर बनाएर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा मूल्य बढाउने प्रवृत्ति रोक्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
‘राष्ट्रिय शोक र विपत्तिको कठिन घडीमा सम्पूर्ण एकता देखाउँदै पीडितहरूको उद्धार र पुनःस्थापनामा सहयोग गर्नुपर्ने समयमा यो त्रासदीको आडमा आम जनताको भान्सासम्म असर पर्ने गरी निर्लज्ज र अस्वाभाविक मूल्यवृद्धि भइरहेको छ,’ उनले भने।
केसीले चामल, तेल, चिनी, मासु, सागपात तथा फलफूललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै खाद्यान्नको मूल्य आकाशिँदा सर्वसाधारणलाई आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन भइरहेको बताए।
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति पनि सहज हुन नसकेको भन्दै उनले उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको बताए। आपूर्ति अभावको यही अवस्थालाई केही व्यवसायीले फाइदा उठाएर कालोबजारी गरिरहेको भन्दै उनले तत्काल प्रभावकारी अनुगमन गर्न सरकारसँग माग गरे।
बाढीपहिरोका कारण सडक तथा यातायात अवरुद्ध हुँदा देशका विभिन्न स्थानमा आपूर्ति व्यवस्था प्रभावित हुनु स्वाभाविक भए पनि त्यसलाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गर्ने र अस्वाभाविक रूपमा मूल्य बढाउने कार्य स्वीकार्य नहुने उनले बताए।
केसीले विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन संसद्बाट उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसमेत गरे। उद्धार तथा पुनःस्थापनाका काममा आवश्यक समन्वय, संयोजन र सर्वदलीय सहभागिता सुनिश्चित गर्न यस्तो समिति आवश्यक रहेको उनको भनाइ छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया