काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई निःशर्त समर्थन गर्दै संसदीय समितिमा बसेर काम गर्न पार्टी तयार रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय समितिले तयार पार्ने प्रतिवेदनका आधारमा सरकारले आवश्यक काम अघि बढाउनुपर्ने बताए।
‘हामी अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौँ। संसदीय समितिमा बसेर काम पनि गर्छौं। समितिले तयार गरेको रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसको आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा पनि रुचि नराख्ने अवस्था नहोस्,’ उनले भने।
थापाले संसद् र संसदीय समितिको मर्यादा कायम राख्ने जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहको समेत रहेको बताए। संसदीय समितिलाई जिम्मेवारी दिएर काममा लगाउने तर समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने उनको भनाइ छ।
‘यत्रो संसदीय समिति हामीले बनाउने भनेका छौँ, यत्रो जिम्मेवारी दिएका छौँ। तर, प्रधानमन्त्रीजीले नै संसदीय समितिको मान र मर्यादा राख्नुभएन, यसरी नै हेपिराख्नुभयो, यसरी नै बेवास्ता गरिराख्नुभयो भने त्यो बेलामा के गर्ने हो त ?’ उनले प्रश्न गरे।
संसदीय समिति गठन गर्नुअघि नै त्यसको कार्यक्षेत्र र जिम्मेवारीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने थापाले बताए। सरकार र संसद्बीच प्रभावकारी समन्वय भए मात्रै समितिलाई दिइएको जिम्मेवारीअनुसार काम अघि बढाउन सकिने उनको भनाइ छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया