काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले अस्पताल पुगिसकेकी गर्भवतीले समेत अस्पतालबाहिर चिसो भुइँमा बच्चा जन्माउनुपर्ने अवस्था दुःखद भएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बबिता पासवानले अस्पतालबाहिरै प्रसूति गराउनुपरेको घटनाले सुरक्षित मातृत्व तथा आमा–नवजात शिशु सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको बताइन्।
उनले आमा तथा नवजात शिशु कार्यक्रम लागू भएका सबै अस्पतालमा प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने माग गरिन्।
हाल केही आधारभूत रक्त परीक्षण र अल्ट्रासाउन्ड सेवा निःशुल्क भए पनि गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था पहिचान गर्न गरिने ‘एनोमली स्क्यान’ समेत निःशुल्क गर्नुपर्ने उनको भनाइ छ।
दर्शनाले हाल देशभरका १४५ अस्पतालमा मात्रै आमा तथा नवजात शिशु कार्यक्रम लागू रहेको उल्लेख गर्दै प्रसूति सेवा प्रदान गर्ने सबै स्वास्थ्य संस्थाको अवस्था र क्षमताको परीक्षण गरी कार्यक्रमलाई देशव्यापी रूपमा प्रभावकारी ढंगले विस्तार गर्न सरकारको ध्यानाकर्षण गराइन्।
उनले सुरक्षित मातृत्व र आमा तथा नवजात शिशुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रसूति सेवामा आवश्यक पूर्वाधार, जनशक्ति र निःशुल्क सेवाको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिन्।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया