हेटौँडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा गुडिरहेका यात्रुवाहक बसमाथि ढुङ्गाप्रहार हुँदा एक यात्रु घाइते भएकी छन्। बुधबार बिहान करिब २ः१५ बजे काठमाडौँतर्फ जाँदै गरेका बसमाथि अज्ञात समूहले ढुङ्गा हानेको प्रहरीले जनाएको छ।
ढुङ्गाप्रहारबाट पाँचवटा बसमा क्षति पुगेको छ। घटनामा रुपन्देही ओमसतिया–६ की २१ वर्षीया लक्ष्मीकुमारी चौधरीको टाउकोमा चोट लागेको छ। उनको मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा हेटौँडा–३ का पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा किरण विक, अंकित राई, सुग्रीव मुक्तान, विजय थिङ लामा र उदास तामाङ छन्।
घटनामा संलग्न थप एक जना फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया